काठमाडौं फागुन ३०,
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी नेतृत्व र सञ्चालन पद्धतिप्रति चर्को  असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आज सार्वजनिक गरेको स्टाटसमा निर्वाचन परिणामपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
पाण्डेले जनताले मतपत्रबाटै “अस्वीकार” को कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने टिप्पणी गरेका छन्। उनका अनुसार यति ठूलो नैतिक पराजयपछि अरूमाथि कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ भन्ने प्रश्न उठ्छ।
उनले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने अवस्था आइसकेको पनि बताएका छन्। अहिलेको परिस्थितिमा “सबै ठीक थियो, हामीलाई फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु सरह हुने उनको भनाइ छ।
पाण्डेले निर्वाचन परिणाममा अन्तर्घात वा षड्यन्त्रको तर्कलाई पनि प्रश्न गरेका छन्। उनका अनुसार अन्तर्घात भए पनि त्यसले अधिकतम ५–१० हजार मत मात्र प्रभाव पार्न सक्छ, तर देखिएको ४०–५० हजार मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने उनले बताएका छन्।
उनले वर्तमान परिणाम कुनै षड्यन्त्र नभई नेकपा  (एमाले ) को सञ्चालन पद्धति र हठलाई जनताले अस्वीकार गरेको स्पष्ट सन्देश भएको उल्लेख गरेका छन्। अब पनि पार्टीले आफ्नो तरिका नबदली अरू असफल भएपछि पुनः सत्ता फर्किने आशामा बसिरहे पार्टी र देश दुवैका लागि घातक हुने उनको चेतावनी छ।
पाण्डे बिचार जस्ताकोतस्तै:
जब जनताले मतपत्रबाटै “अस्वीकार” को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘कारबाही’ को धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ?

नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि “सबै ठीक थियो, हामीलाई त फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो। मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला – तर अन्तर्घातले ५ – १० हजार मत तल-माथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई “फसाइएको” भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो।

यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र “अरू असफल होलान् र फेरि हाम्रो पालो आउला” भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ।