काठमाडौ चैत्र २,
कतारले इरानलाई खाडी क्षेत्रका देशहरूमा भइरहेको आक्रमण तत्काल रोक्न आग्रह गर्दै संकट समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको बताएको छ।
अलजजिराका अनुसार कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले सोमबार राजधानी दोहामा आयोजित पत्रकार सम्मेलनमा इरानले आवासीय क्षेत्र, ऊर्जा संरचना तथा हमाद अन्तर्राष्ट्रिय बिमानस्थल समेत निशाना बनाएको आरोप लगाए।
उनले भने, “इरानले कुनै कारण बिना खाडी देशहरूमा आक्रमण गरिरहेको छ। हामी यो युद्धमा पक्षधर होइनौँ, त्यसैले आक्रमण तुरुन्त रोक्नुपर्छ ताकि कूटनीतिक समाधान खोज्न सकियोस्।”
अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेपछि इरानले खाडी क्षेत्रमा अमेरिकी सम्पत्ति तथा केही नागरिक संरचनामाथि ड्रोन र मिसाइल प्रहार गर्दै आएको बताइएको छ। यस युद्धका कारण इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने अस्पताल, विद्यालय, विमानस्थल र बन्दरगाह लगायतका संरचनामा क्षति पुगेको छ।
