काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङ जिल्लाक्षेत्र नम्बर २ पनि चुनावी इपिसेन्टर मध्ये एक हो । यो यसकारण इपिसेन्टर हो कि एमालेको शक्तिशाली पद सम्हालेका महासचिव शंकर पोख्रेल यहींबाट निर्वाचनमा होमिएका छन् । पोखरेलको संसदिय यात्रामा यो पटक जित निकाल्न हम्मेहम्मे परिरहेको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेको छ।

मिडियाको रिपोर्ट अनुसार पोख्रेलको मुख्य प्रतिस्पर्धा रास्वपाका विपिन आचार्यसँग हुने बताइएपनि संगठित जनमत अनुसार कांग्रेसका किरणकिशोर घिमिरे नै हुन् । घिमिरे तिनै पात्र हुन् जसको दाइ कृष्ण किशोरसँग यसअघि पोख्रेलले प्रतिस्पर्धा गरेर पराजय व्यहोरेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका दीपक गिरीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका पोखरेलले २०५६ को निर्वाचनमा भने अहिलेका प्रतिसपर्धी किरण किशोरका दाई कृष्ण किशोरसँग पराजित भएका थिए । त्यसपछि २०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य भएका पोखरेल ७० मा फेरि कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित हुन पुगे ।

२०७४ मा एमाले माओवादीको वाम गठबन्धन हुँदा ५६ मा पराजय व्यहोरेका कृष्णकिशोरका सहोदर कान्छो भाइ कमलकिशोरसँग प्रतिस्पर्धा गर्दै प्रदेशसभातर्फ जित हात पारेर मुख्यमन्त्री हुन सफल भएका थिए । फेरि ७९ मा साविक माओवादकिी रेखा शर्मासँग पराजय व्यहोरेका थिए । यसरी अहिले फेरि पोखरेलको कांग्रेसबाट उम्मेदवार बनेका किरणकिशोरसँग प्रतिस्पर्धा हुन लागेपछि दाङमा तीनपटक एकै परिवारका सहोदर दाजुभाइसँग चुनावी प्रतिस्पर्धा गर्ने संयोग जुरेको छ ।

२०५१ को निर्वाचनमा कांग्रेस नेता दीपक गिरीलाइै पराजित गर्दै पहिलो संसदीय यात्रा तय गरेका पोखरेललाई त्यतिबेला बामपंथी आन्दोलनका स्थापित नेता (पछि माओवादी युद्धमा सहभागी) शिवराज गौतमकै कारण थियो । ४८ सालमा जितेका गौतमले आफूले उम्मेदवारी नदिएर ५१ को मध्यावधि निर्वाचनमा पोखरेललाई अगाडि सार्दै जिताउन प्रमुख भूमिका खेलेका थिए ।

एमाले अध्यक्ष केपि ओलीका बिश्वासपात्र पोख्रेलको यो पटकको निर्वाचनमा भिडन्त हुँदै छ रास्वपा सभापति रबि लामिछानेका बिश्वासपात्र मानिने सहमहामन्त्री बिपिन कुमार आचार्यसंग।लामो बामपंथी आन्दोलनको पृष्ठभूमि अखिलको केन्द्रिय अध्यक्ष र महासचिव जस्तो शक्तिशाली पात्रलाई चुनौती दिने बिपिनको बिगत चाहिँ कस्तो छ त ? हामीले नेपालको चर्चित सहकारी घोटाला काण्डको छानबिन प्रतिबेदन केलाउने प्रयत्न गरेका छौं ।

पत्रकार राजेन्द्र बानियाँले आचार्यलाई एक कार्यक्रममा उनलाइ प्रश्न गरेका छन् तपाईं सहकारी ठगिको मास्टर माइन्ड हो र ? आखिर जिवी राईलाई मुख्य अभियुक्त करार गरिरहेको सहकारी ठगिको मास्टर माइन्डबारे चर्चा गरौं।

नेकपा एमालेका तत्कालिन सांसद सुर्य थापा नेतृत्वको सहकारी संस्था रकम दुरुपयोग सम्बन्धी विशेष छानबीन समितिको प्रतिवेदन अनुसार समस्या गोरखा मिडियामा देशभरका ६ वटा सहकारीबाट २ अर्ब ५८ करोड बराबर रकम अपचलन भएको छ । गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा ‘क्रियटिभ डाइरेक्टर’ पदमा कार्यरत थिए विपिन कुमार आचार्य ।

गोरखा मिडिया नेटवर्क प्रा।लीबाट आर्थिक वर्ष २०७७।७८ र ७८।७९ मा नोबडी प्रोडक्सन प्रा।लीलाई ४ करोड २१ लख ९३ हजार ७ सय ५० रुपैयाँ पेस्की दिएको प्रतिवेदनमा उल्लेख छ । समिति समक्ष आचार्यले दिएको बयानमा आफ्नो श्रीमती सुरक्षा अधिकारीको नाममा नोबडी प्रोडक्सन प्रा।ली नामक कम्पनि दर्ता रहेको स्विकार गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री रहेका आचार्यले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कास्की र पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन तथा रूपन्देही जिल्ला अदालतमा दायर मुद्दाको विवरणमा विभिन्न मितिमा सहकारीबाट रकम लिएको उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट आचार्यका नाममा २ पटक गरेर २ करोड ३१ लाख १५ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ ।

प्रहरीको अनुसन्धानपछि २०८१ वैशाखमा रूपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्रमा सुप्रिम सहकारीबाट आचार्यको नाममा गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामार्फत २०७८ पुस १२ मा १ करोड ५० लाख रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । सेवा शुल्कबापत ६ लाख १५ हजार कट्टा गरी उक्त रकम प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै सुप्रिम सहकारीबाटै २०७७ कात्तिक ६ मा आचार्यको नोबडी प्रोडक्सन प्रालिको नाममा एनआईसी एसिया बैंकमा रहेको खातामा ७५ लाख रुपैयाँ ऋण प्रवाह भएको पनि अभियोगपत्रमा उल्लेख छ । सोही अभियोगपत्रमा रास्वपा सभापति लामिछानेले पनि १ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । तर, आचार्य र लामिछानेमाथि कुनै सोधपुछ नगरी तथा प्रतिवादी नबनाई मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धान एवं मुद्दा दर्ताका बेला लामिछाने गृहमन्त्री थिए ।

आचार्यले सूर्यदर्शन सहकारीबाट ११६–०००४६१६ खाता नम्बरमा ०७८ पुस ६ मा १ करोड ऋण लिएको पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । आचार्यले लिएको ऋणको ब्याज पुँजीकरणपश्चात् १ करोड ८ लाख ३२ हजार ४ सय ६६ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । ऋण लिएयता आचार्यले साँवा–ब्याज भुक्तानी गरेका छैनन् ।

२०८१ भदौमा रूपन्देही अदालतले आचार्यकी पत्नी सुरक्षा अधिकारीलाई पनि पक्राउ गर्न अनुमति दिएको थियो । सुप्रिम सहकारीबाट आचार्य, अधिकारी र नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ । नोबडी प्रोडक्सन अधिकारीका नाममा स्थापना गरिएको भए पनि त्यसमा हर्ताकर्ता आचार्य नै थिए । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की प्रहरीले काठमाडौं पुगेर गत २०८१ भ्दौ ८ मा आचार्यसँग बयान लिएको थियो ।

अभियोग पत्रहरुमा जिवि राईको नाममा देखिने मोबाइल नम्बर समेत आचार्यले नै चलाउँदै आएको उल्लेख छ ।यस्तो प्रमाणका बाबजुद आचार्य हालसम्म कुनै संचार माध्यमको नजरमा नपर्नुको कारणबारे आचार्यलाई नजिकबाट चिनेकाहरु आश्चर्यमा परेका छन् ।