काठमाडौं चैत्र २२,
गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूले भोगेको पीडा सम्झँदै, अहिले चर्चामा रहेको संगम बिष्ट प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन्।
समीक्षाले आफू पनि विगतमा पीडितको अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै, “एउटा पीडितको मन अर्को पीडितले जस्तो त कसैले बुझ्न सक्दैन” भन्दै पीडितमाथि हुने सामाजिक दबाब, आरोप र मानसिक यातनाबारे गहिरो पीडा व्यक्त गरेकी छन्।
उनले आफ्नो पुरानो घाउ सम्झिँदै, समाजले आफूलाई सहज रूपमा बाँच्न नदिएको र “दिनदिनै मरीमरी बाँच्नुपरेको” अवस्थाबाट गुज्रिनुपरेको बताएकी छन्। त्यतिबेला आफू १८ वर्ष पनि नपुगेकी छोरी मान्छे भएर समाजसँग एक्लै लड्नुपरेको अनुभव उनले साझा गरेकी छन्।
‘किन ढिलो बोलिस्?’ भन्ने प्रश्नले झन् पीडा दिन्छ
समीक्षा अधिकारीले पीडितमाथि समाजले गर्ने सबैभन्दा कठोर व्यवहारमध्ये एक “किन ढिलो बोलिस्? त्यतिबेलै किन उजुरी गरिनस्?” भन्ने प्रश्न रहेको बताएकी छन्।
उनले लेखेकी छन् कि छोरी मान्छे भएपछि समाजको डर, परिवारको चिन्ता, चरित्रमाथि उठ्ने औंला र “मलाई नै गलत भन्ला कि?” भन्ने त्रासले धेरै कुरा समयमै भन्न नसकिने अवस्था आउँछ।
उनले समाजमा अझै पनि “मन मिल्दा चमत्कार, नमिल्दा बलात्कार” भन्ने खतरनाक मानसिकता रहेको उल्लेख गर्दै, यस्ता सोचले वास्तविक पीडितलाई झन् पीडा दिने बताएकी छन्।
‘कसैको पीडालाई अरूसँग नदाँज्नुहोस्’
समीक्षाले हरेक पीडितको घाउको आफ्नै गहिराइ हुने भन्दै, कसैको पीडालाई हल्का रूपमा नलिन आग्रह गरेकी छन्।
उनले लेखेकी छन्, “कृपया कसैको पीडालाई अरूसँग नदाँज्नुहोस्। हरेक घाउको आफ्नै गहिराइ हुन्छ।” साथै, कुनै पनि घटनामा पीडितलाई सजिलै दोषी वा चरित्रहीन देखाउने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाएकी छन्।
समीक्षाले समाजलाई सम्बोधन गर्दै, “एकपटक आफ्नै घर सम्झिनुहोस्—तपाईंहरूको घरमा पनि दिदीबहिनी, छोरीहरू छन्” भन्दै संवेदनशील बन्न आग्रह गरेकी छन्।
अधिकारीले संगम बिष्टको केसमा दुवै पक्षको सत्य बाहिर आउनुपर्ने बताउँदै, दोषी जो भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्ने धारणा राखेकी छन्।
उनले आफू सधैं पीडितहरूको पक्षमा उभिने स्पष्ट गर्दै, “कसैको भावनासँग खेलबाड नगरियोस्, किनकि यस्तो पीडा जसलाई पर्छ, उसैले मात्र बुझ्छ” भन्ने सन्देश दिएकी छन्।
