काठमाण्डु चैत्र २५
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युद्ध उन्मादबीच भएको अस्थायी युद्धविरामप्रति स्वागत जनाउँदै शान्ति, संवाद र सहअस्तित्वको पक्षमा आवाज उठाउन अपिल गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले आधुनिक सूचना–प्रविधिको युगमा पनि कुनै सभ्यतालाई “ढुंगे युगमा फर्काइदिने” धम्की दिनु मानव सभ्यतामाथिको नाङ्गो व्यंग्य भएको टिप्पणी गरेका छन्। उनले यस्तो अवस्थामा केही शासकहरूको मौनता लाजमर्दो देखिएको उल्लेख गर्दै मानवता नै निरिह बनेको अनुभूति पीडादायी रहेको बताएका छन्।

- पोखरेलले कठिन घडीमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिएका इरानी जनताले मानवता अझै जीवित रहेको विश्वास जगाएको बताएका छन्। त्यस्तै, आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएको उनको भनाइ छ।
उनले अस्थायी युद्धविरामका लागि पहल गर्ने सबै पक्षप्रति सम्मान व्यक्त गर्दै विशेषगरी मध्यस्थताको भूमिकामा देखिएको पाकिस्तानी नेतृत्वको प्रशंसा गरेका छन्। उनले यो अस्थायी युद्धविराम स्थायी शान्तिमा रूपान्तरण होस् भन्ने कामना व्यक्त गरेका छन्।
पोखरेलले युद्धका माध्यमबाट प्रभुत्व कायम गर्न खोज्ने शक्तिहरूलाई पनि यस द्वन्द्वले पछि फर्किने बहाना खोज्न बाध्य बनाएको टिप्पणी गरेका छन्। विश्व अर्थतन्त्रलाई नै हल्लाइदिएको युद्धले शक्ति राजनीति कति विनाशकारी हुन सक्छ भन्ने स्पष्ट पारेको उनको संकेत छ।
पोख्रेलले सबैलाई सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउन आह्वान गर्दै भनेका छन् “हिंसा मानवताको शत्रु हो, शान्ति नै हाम्रो साझा भविष्य हो”।
