काठमाडौं चैत्र २९,

नेपाली कांग्रेसका वरिष्ठ  नेता एबम प्रतिनिधि सभाका सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका रूपमा रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियामा ढिलाइ हुनुमा आफ्नो भूमिका रहेको भन्ने चर्चा असत्य र भ्रामक भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता केसीले संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस हुनु स्वाभाविक भए पनि “को, किन र कस्तो नेता चाहिन्छ” भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको उल्लेख गरेका छन्।

 


उनले आफ्नो कारणले प्रक्रिया ढिलाइ भएको भन्ने तथा विभिन्न नाता–सम्बन्ध जोडेर गरिएका टिप्पणीहरू गलत भएको प्रष्टीकरण दिएका छन्।
केसीले पार्टीभित्र र सार्वजनिक रूपमा आफूले निरन्तर सहमतिका आधारमा निर्णय गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै भनेका छन्, “पहिला सहमतिका मापदण्ड बनाऔं, सकेसम्म सर्वसम्मतिमा जाऔं, त्यसमा मेरो पूर्ण समर्थन रहनेछ।”
उनले सबैभन्दा युवा वा सबैभन्दा वरिष्ठमध्ये जसलाई उपयुक्त ठहरिन्छ, त्यसैलाई अवसर दिन सकिने धारणा राख्दै प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट निर्वाचित भएर आए पनि सांसदबीच विभेद गर्न नहुने बताएका छन्।
यदि निर्वाचित प्रक्रियाबाटै नेता चयन गर्नुपर्ने भए निश्चित मापदण्ड, योग्यता, न्यायोचितता र तार्किक आधारमा निर्णय हुनुपर्ने उनको भनाइ छ।
केसीले संसदीय दलको नेता केवल पद नभई प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै परिपक्व र सक्षम निर्णय आवश्यक रहेको बताएका छन्।
उनले सहमति हुन नसके तत्काल निर्वाचनमार्फत निर्णयमा पुग्न आग्रह गर्दै भनेका छन्, “अब ढिलाइ नगरौं।”