काठमाडौं चैत्र ३०
नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशन र क्रियाशील सदस्यता विवाद चर्किँदै जाँदा पार्टीभित्र बबन्डर मच्चिएको छ। कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले काबा सभापतिको हैसियतले बिज्ञप्ति जारी गर्दै  गगन थापा पक्षलाई लक्षित  कडा चेतावनी दिएका छन्, जसले पार्टीभित्रको आन्तरिक द्वन्द्व थप सतहमा ल्याएको  छ।
खड्काले सोमबार वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको नाममा भइरहेका गतिविधिलाई ‘विधानविपरीत र अवैध’ को संज्ञा दिएका छन्। उनले मुलुकको जटिल राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता खोज्नुको सट्टा पार्टी कमजोर पार्ने गतिविधि भएको भन्दै असन्तुष्टि जनाएका छन्।


उनले केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा त्यसविपरीत भ्रम फैलाउने काम भइरहेको बताएका छन्।
क्रियाशील सदस्यता खारेजीको बहस चर्किरहेका बेला खड्काले सदस्यता खारेज गर्न खोज्ने प्रयासप्रति पनि कडा आपत्ति जनाएका छन्।
उनले भनेका छन्, “कुनै नेताले आवेग वा उत्तेजनामा भाषण गरेकै भरमा सदस्यता खारेज हुन सक्दैन । यो सदस्यता त योद्धाको योगदान र सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो ।”
खड्काले क्रियाशील सदस्यता कांग्रेसको इतिहास, योगदान र निरन्तरताको प्रमाण भएको उल्लेख गर्दै विधानबमोजिम बाहेक कसैले पनि आम सदस्यको सदस्यता खारेज गर्न नसक्ने स्पष्ट पारेका छन्।
देउवा–खड्का पक्षले यसअघि वितरण तथा नवीकरण गरिसकिएको सदस्यता खारेज गरेर पुनः प्रक्रिया थाल्ने प्रस्तावलाई पूर्वाग्रही र आपत्तिजनक भन्दै अस्वीकार गरेको छ।
खड्काले कांग्रेस कार्यकर्ता र नेताहरुलाई भ्रममा नपर्न तथा निराशाबाट टाढा रहन अपिल गरेका छन्।
तर उनको यो चेतावनीसँगै कांग्रेसभित्रको देउवा–गगन शक्ति संघर्ष अब  पार्टी बिभाजनको  दिशामा गएको विश्लेषण हुन थालेको छ।