काठमाडौं बैशाख १४

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई( साम्पाङ)ले सुकुम्बासी बस्ती हटाउने क्रममा नेपाली सेना समेत परिचालन भएको विषयमा गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले “नेपाली सेना किन बाटोमा निस्केको? संसदले अनुमोदन गरेर निस्केको हो? कि देश सैन्य शासनतर्फ जाँदैछ?” भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।


उनले सीमाना क्षेत्रमा खटिनुपर्ने सेना सुकुम्बासी बस्ती हटाउने कार्यमा देखिनु “आपत्तिजनक” भएको टिप्पणी गरेका छन्। साम्पाङले यस कदमले नागरिक अधिकार र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाउने बताएका छन्।
हालै काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अवैध बस्ती हटाउने अभियान तीव्र पारिएको छ। यस क्रममा सुरक्षाकर्मीको ठूलो उपस्थिति देखिएको र केही स्थानमा सेना समेत देखिएको भन्दै सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
सरकारका तर्फबाट भने सार्वजनिक रूपमा विस्तृत धारणा आएको छैन। तर सुरक्षा निकायले आवश्यक समन्वयमा काम भइरहेको बताउँदै आएका छन्।