काठमाडौं — नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेको नेटवर्क नक्सामा गम्भीर त्रुटि भेटिएपछि औपचारिक रूपमा माफी मागेको छ। कम्पनीले जारी गरेको वक्तव्यमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमारेखासम्बन्धी “महत्त्वपूर्ण नक्सागत अशुद्धता” रहेको स्वीकार गरेको छ।

एयरलाइन्सको आधिकारिक सोसल मिडिया प्लेट फर्म एक्समा जाम्मु र कस्मिरलाई पाकिस्तानको भूभाग रहेको नक्सा पोष्ट गरेपछि भारतीय संचार माध्यमहरुमा चर्को बिरोध भैरहेको छ।
एयरलाइन्सका अनुसार सो नक्साले नेपाल सरकार वा कम्पनीको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने स्पष्ट पारिएको छ। विवाद बढ्न थालेपछि सम्बन्धित पोस्ट तुरुन्तै हटाइएको पनि जनाइएको छ।


कम्पनीले घटनापछि आन्तरिक समीक्षा प्रक्रिया अघि बढाएको छ। “हाम्रो सामग्रीले उच्चतम शुद्धता कायम गरोस् भन्ने सुनिश्चित गर्न समीक्षा भइरहेको छ,” वक्तव्यमा भनिएको छ।
यसैबीच, एयरलाइन्सले क्षेत्रीय सम्बन्धप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने जनाएको छ। साथै, उक्त पोस्टका कारण कसैलाई असहजता पुगेको भए त्यसप्रति खेद व्यक्त गरिएको छ।
यो घटनाले सार्वजनिक संस्थाहरूले डिजिटल सामग्री प्रकाशन गर्दा शुद्धता र संवेदनशीलताको विषयमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ।