काठमाडौं  ,नेपाल कम्युनिष्ट पार्टी( मसाल)  महासचिव  मोहन विक्रम सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र चरित्र समान प्रकृतिको रहेको टिप्पणी गरेका छन्।
उनले सामाजिक संजाल फेसबुकमा  धारणा व्यक्त गर्दै दुवै नेतामा अधिनायकवादी र स्वेच्छाचारी प्रवृत्ति देखिएको बताएका हुन्। सिंहका अनुसार सामाजिक सञ्जाल नियमन गर्ने विषयमा नेपालको सर्वोच्च अदालत ले कानुन बनाएर अघि बढ्न निर्देशन दिए पनि ओली नेतृत्वले त्यसलाई बेवास्ता गर्दै प्रत्यक्ष प्रतिबन्ध लगाउने शैली अपनाएको थियो, जसले उनको कार्यशैलीको प्रकृति प्रष्ट पार्ने दाबी गरिएको छ।
त्यस्तै, सिंहले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा वर्तमान सरकारको कदममाथि पनि आलोचना गरेका छन्। उनले नदी किनारका अवैध बस्ती हटाउने आवश्यकता स्वीकार गर्दै त्यसलाई कानुनी र मानवीय तरिकाबाट समाधान गर्नुपर्नेमा जोड दिए। तर व्यवहारमा भने पर्याप्त सूचना र विकल्प बिना डोजर प्रयोग गरेर बस्ती हटाइएको भन्दै त्यसलाई “अमानवीय र बर्बर” कदमको संज्ञा दिएका छन्।
उनका अनुसार दुवै नेताले कानुनी प्रक्रिया र मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दै कठोर निर्णय लागू गर्ने प्रवृत्ति देखाएका छन्, जसले उनीहरूको चरित्रमा समानता देखिने आधार प्रदान गर्छ।
सिंहले ओलीको कार्यशैलीको विरोधमा युवाहरूले विगतमा प्रतिक्रिया दिएको स्मरण गर्दै वर्तमान सरकारको कदमप्रति पनि भविष्यमा जनस्तरबाट प्रतिक्रिया आउने संकेत गरेका छन्।

सिंहको बिचार

ओली र बालेन दुवैजनाको एकै प्रकारको चरीत्र ।
व्यबहारले भुतपुर्व प्रधानमन्त्री के पि शर्मा ओली र बर्तमान प्रधानमन्त्री बालेन शाहको चरीत्र र कार्यसैली एकै प्रकारको भएको कुरा प्रष्ट भएकोछ।
सामाजिक संजाल लाई नियमन गर्नु आबश्यक र सहि दुवै थियो ।सर्बोच्च अदालतले त्यसबारे कानुन बनाएर नियमन गर्न भनेको थियो ।तर ओली ले त्यसो नगरीकन ठाडो प्रकारले सामाजिक संजाल माथी प्रतिबन्ध लगाएका थिए।उनको त्यस प्रकारको व्यबहार उनको अधिनायकवादि चरीत्र र स्वेच्छाचारी कार्यशैलीको परिणाम थियो ।बालेनले सुकुम्बासी प्रति अपनाएको नीति बाट पनि उनको ओलीको जस्तो अधिनायकवादि चरीत्र र कार्यशैली प्रकट भएको छ।
सर्बोच्च अदालतको फैसला समेत बाट नदिका तिरमा बसेका सुकुम्बासीहरुलाइ त्यहाबाट हटाउनु आबश्यक थियो।त्यसका साथै गैर सुकुम्बासीहरुले आफुलाइ सुकुम्बासी बताएर जमिन माथी कब्जा गर्ने जुन काम गरेका थिए,उनिहरुलाइ पनि त्यहा बाट हटाउनु आबश्यक थियो । तर ती सबै कार्यहरू कानुनी र न्यायपुर्ण तरिकाले गर्नु पर्दथ्यो।तर बालेनले पनि ओलीले जस्तै ठाडो र जोरजबर्जस्ती पुर्वक सुकुम्बासीहरुलाइ आफ्नो घर जग्गा बाट हटाउने काम गरे । उनीहरुलाई एक दिन पहिले मात्र माइक द्वारा सुचना दिएर अर्को दिन उनिहरुका घरहरू डोजर लगाएर भत्काउने काम गरियो ।त्यो अत्यन्त अमानवीय र बर्बर कारबाही थियो । त्यसरी मुलभुत रुपमा ओली र बालेन दुवैको चरीत्र अधिनायकवादी र स्वेच्छाचारी भएको कुरामा कुनै संका रहन्न।
ओलीको अधिनायकवादी चरित्रको जवाफ जेन्जी युवाहरूले दिएका थिए ।तर बालेनको त्यस प्रकारको अधिनायकवादी र स्वेच्छाचारी कार्यशैलीको जवाफ कहिले र कसरी आउनेछ?त्यो कुरा आउने दिनमा नै थाहा हुदै जानेछ।
यस सन्दर्भमा ओली र बालेन शाह बारे ब्याख्या र विश्लेषण गर्ने कुराहरू धेरै छन् ।तर अहिले हामीहरु ती सबैको चर्चा गर्ने पट्टी लाग्दैनौ।समय बित्नुका साथै ती सबै कुराहरू अगाडि आउदै जानेछ्न।