काठमाडौं जेठ ४

पत्रकार नरेश ज्ञवालीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गैरसैन्य संस्थाहरूमा सैन्य पृष्ठभूमिका व्यक्तिहरूको बढ्दो नियुक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले दुई उदाहरण प्रस्तुत गर्दै राज्यका नागरिक संस्थाहरू क्रमशः “सैन्य प्रभाव” अन्तर्गत गइरहेको टिप्पणी गरेका हुन्।


ज्ञवालीले पहिलो उदाहरणका रूपमा पूर्वाधार विकास मन्त्रालय मातहत रहेको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति को कार्यकारी समिति अध्यक्ष नियुक्तिलाई उल्लेख गरेका छन्। उक्त पदमा नेपाली सेनाका पूर्व कर्णेल डा. आनन्द सिंह भाट नियुक्त भएका छन्।
उनका अनुसार वैशाख १४ गते मन्त्रालयको वेबसाइटमा प्रकाशित सूचनाअनुसार काठमाडौं विश्वविद्यालयमा अध्यापनरत डा. विकास अधिकारी पहिलो नम्बरमा सिफारिस भएका थिए भने डा. आनन्द सिंह भाट दोस्रो नम्बरमा रहेका थिए। तर, दुई दिनपछि अर्थात वैशाख १६ गते अर्को सूचना प्रकाशित गर्दै भाटलाई पहिलो नम्बरमा र अधिकारीलाई दोस्रो नम्बरमा राखिएको थियो। अन्ततः वैशाख ३० गते भाट अध्यक्ष पदमा नियुक्त भए।


ज्ञवालीले आफूले डा. भाटसँग प्रत्यक्ष फोन संवाद गरेको उल्लेख गर्दै भाटले नेपाली सेनामा कर्णेल भएर सेवा दिएको स्वीकार गरेको बताएका छन्।
त्यसैगरी दोस्रो उदाहरणमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल वायुसेवा निगम को सञ्चालक समिति सदस्य नियुक्तिको प्रसंग उठाएका छन्। पाँच सदस्यीय नियुक्तिमा पहिलो नम्बरमा नेपाली सेनाका मेजर जनरल डा. दिपक प्रसाद बास्तोला रहेको उल्लेख गर्दै उनले गैरसैन्य संस्थामा सैन्य पृष्ठभूमिका व्यक्तिहरूको प्रभाव बढ्दै गएको संकेत गरेका छन्।
ज्ञवालीले प्रश्न गरेका छन्, “के सरकारले योग्य नागरिक विज्ञहरू नपाएर सैन्य पृष्ठभूमिका व्यक्तिहरूलाई नियुक्त गरिरहेको हो, वा सरकार स्वयं जंगी अड्डाको प्रभावमुनि सञ्चालन भइरहेको छ?”