काठमाडौं– नेपालमा कम्युनिष्ट आन्दोलनलाई वामपन्थी आन्दोलनसँगै जोडेर हेर्ने गरिन्छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए (वि.सं. २००६) देखि आजसम्म अग्रगमनको मार्गमा वाम आन्दोलनले थुप्रै उतारचढाव र आरोह–अवरोह ब्यहोरेको छ । नेपालका वामपन्थीसँग सशस्त्र सङ्घर्ष र शान्तिपूर्ण सङ्घर्षका आ–आफ्नै अनुभव छन् । युद्धको नेतृत्व गरेका र शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेका पुराना तथा पाका नेताको पंक्तिदेखि भर्खरका भर्भराउँदा युवाको जमात पनि वाम आन्दोलनकै एउटा लयमा देखिन्छ । पटक–पटकको सफल तथा असफल सङ्घर्षका गाथाहरुले केही महत्त्वपूर्ण उपलब्धि हासिल भएकै छन् । एकात्मक निरङ्कुश राजतन्त्रको अन्त्य र समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई सबैभन्दा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

केही राजनीतिक उपलब्धिका बाबजुद पनि वाम आन्दोलन समस्यारहित छैन । एकीकृत आन्दोलन निर्माण गर्न नसक्नु नै वाम आन्दोलनको कमजोरी हो । यसका साथै वैचारिक, साङ्गठनिक, राजनीतिकलगायत अन्य कारण पनि हुन सक्छन् । वाम पार्टीहरूबिच यति ठुलो विभाजन र मतभिन्नता देखिँदा पनि वाम जनमत धेरै धर्मराएको देखिँदैन, बरु नयाँ नयाँ विकल्पको पर्खाइमा देखिन्छ । कुनै पनि विचारधारामा आधारित प्रणाली वा राजनीतिमा सधैँ एउटै प्रकारको जनमतको अवस्था रहिरहन्छ भन्ने हुँदैन ।

१८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म संयुक्त अधिराज्य बेलायतमा चलेको औद्योगिक क्रान्ति (१७६०—१८४०) र १८औँ शताब्दीको ८० को दशकमा भएको फ्रान्सेली राज्य क्रान्ति (१७८९) को जगमा कम्युनिस्ट घोषणापत्र आएको थियो । सन् १८४८ मा माक्र्स र एंगेल्सले लेखेको यस घोषणापत्रले समाजवादी आन्दोलनलाई विश्वव्यापी रूपमा मार्ग निर्देशन गर्‍यो । औद्योगिक क्रान्तिका समयमा युरोपका मजदुरले भोगेका दर्दनाक पीडा र फ्रान्सेली क्रान्तिका समयमा लागेका समानता, स्वतन्त्रता र भ्रातृत्वको नाराबाट प्रभावित माक्र्सको विचार नै समयक्रममा माक्र्सवाद बन्न पुग्यो ।

आजसम्मको इतिहास हेर्दा उत्तराधिकारीको निर्माण कि नेतृत्वको सहयोगी बनेर कि त नेतृत्वसँग आलोचनात्मक प्रतिस्पर्धा गरेरै भएको देखिन्छ । सर्वहारा वर्गले गर्ने संघर्षको विधि, उभिने दार्शनिक आधार र निर्माण गर्ने राजनीतिक सत्ताको कुल योग नै माक्र्सवाद हो । निजी स्वामित्व र पूँजीवादविरुद्धको सङ्घर्षको दर्शन हो माक्र्सवाद । विश्वभरिका कम्युनिस्टहरूको राजनीतिक आन्दोलनको सैद्धान्तिक आधार हो माक्र्सवाद । प्रश्न उठ्छ, के १७६ वर्षअघि प्रकाशित कम्युनिस्ट घोषणापत्रको त्यही शास्त्रीय वैचारिकीले मात्र वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न सक्ला रु पक्कै सक्दैन । माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण पनि हो र यो गतिशील हुनुपर्छ । उसो भए नेपालमा सोभियत संघ, चीन, क्युबालगायत मुलुकले लागु गरेको जस्तै सङ्घर्षको विधि र राजनीतिक कार्यक्रम सम्भव होला ? यो प्रश्न विचारणीय छ । आज नेपाललाई के चाहिएको हो, ती चाहिएका कुरा २००६ सालवरिपरि चक्कर मारेर मात्र प्राप्त गर्न सकिन्छ कि सकिँदैन ? यही सवालमाथि आज बहस हुन आवश्यक छ । भदौमा भएको युवा आन्दोलनपछि त अझ गम्भीर ढंगले यो आन्दोलनको भविष्यको बारेमा सोच्न जरुरी छ ।

राजनीतिक सत्ता र वर्ग सङ्घर्षबारेको दृष्टिकोण

राज्यसत्ता बाहेक सबै भ्रम हो भन्ने कम्युनिष्टहरुको लागि सत्ता अत्यन्त महत्वपूर्ण कुरा हो । माओको भनाइमा सत्ता बन्दुकको नालबाट जन्मिने गर्दछ । अर्थात् सर्वहारावर्गले शान्तिपूर्ण रुपमा सत्ता प्राप्त गर्नु असम्भव छ । त्यसैले कम्युनिष्टहरुको वर्ग दृष्टिकोण प्रष्ट हुुनुपर्दछ भनिएको हो । विश्वका कम्युनिस्टसँग वर्ग संघर्षको दुईवटा सफल मोडल छन्— सशस्त्र सङ्घर्षको रसियन मोडल र दीर्घकालीन जनयुद्धको चिनियाँ मोडल । अरु देशमा भएका मोडल यसकै वरिपरि केन्द्रित छन् । नेपालका कम्युनिस्टसँग यी दुवै मोडलका आंशिक सफलतासहितका अनुभव छन् । झापा विद्रोह एउटा ऐतिहासिक घटनाका रूपमा मात्र दर्ज हुन पुग्यो । माओवादीको दीर्घकालीन जनयुद्ध पूर्ण रूपमा सफल हुन सकेन । २०४६ को जनआन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्तिको सहकार्यको आन्दोलन तथा आंशिक सफलतासहितको आन्दोलन बन्न पुग्यो । माओवादी र संसदीय राजनीतिक शक्तिबिच भएको बाह्रबुँदे राजनीतिक सहमतिको जगमा २०६२÷६३ को संयुक्त जनआन्दोलन भयो, जसले २४० वर्षसम्मको राजतन्त्रको अन्त्य गर्‍यो ।

कम्युनिस्टसँग यस्तो प्रकारको एकल र संयुक्त, शान्तिपूर्ण र सशस्त्र संघर्षको शृङ्खलाको अनुभव भए पनि वर्ग सङ्घर्षलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा नेपाली वाममन्थीबिच चर्को मतभेद देखिँदै आएको छ, यसले आन्दोलनलाई विभाजित र कमजोर बनाइराखेको छ । हतियारप्रतिको निरपेक्ष मोह र चुनावप्रतिको पनि निरपेक्ष मोह नेपाली वाम आन्दोलनभित्रको अतिवाद हो । यही अतिवादले यति ठुलो र बलियो वाम जनमतलाई विखण्डित गरिदिएको छ । शान्तिपूर्ण प्रतिस्पर्धाका नाममा चुनावदेखि चुनावसम्मको चक्र र सशस्त्र वर्ग सङ्घर्षको नाममा जनभावना र वस्तुस्थितिको आकलन नगरी जीवनभरि बन्दुकको सिरानी राख्ने तरिका— यी दुवै अतिवाद वाम आन्दोलनमा हानिकारक छन् । नेपाली वामपन्थीले शान्तिपूर्ण सङ्घर्ष र प्रतिस्पर्धालाई वर्ग सङ्घर्षको मोडलका रूपमा लिँदै सङ्घर्षको विधि एउटा साधन हो र समाजवाद साध्य हो भनी बुझ्न जरुरी छ ।

सामान्यतः कम्युनिस्ट पार्टीहरू लेनिनवादी संगठनात्मक विधि अनुसार सञ्चालन हुने गर्छन् । व्यक्ति संगठनमातहत, तल्लो कमिटी माथिल्लो कमिटीमातहत, अल्पमत बहुमतमातहत, सबै कमिटी केन्द्रीय कमिटीमातहत र केन्द्रीय कमिटी राष्ट्रिय सम्मेलन वा महाधिवेशनमातहत रहने विधिको निर्माण आजभन्दा ११० वर्षअगाडि लेनिनले गरेका थिए । जसलाई विश्वभरिकै कम्युनिष्टहरुले लेनिनवादी संगठनात्मक सिद्धान्त भन्ने गर्दछन् । भीषण वर्ग सङ्घर्षका समयमा विशेष परिस्थितिमा लेनिनले संगठन परिचालनका निम्ति निर्माण गरेको यो विधि आज पूर्ण सान्दर्भिक नहुन सक्छ ।

माक्र्सवाद कुनै धर्मग्रन्थ होइन । माक्र्सवाद द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने दर्शन हो । यो समाजको आवश्यकता र अवस्था अनुसार परिमार्जन पनि हुन्छ । जस्तो कि चिनीयाँहरुले परम्परागत समाजावदलाई चिनियाँ विशेषतासहितको समाजवाद भनेर व्याख्या गरिरहेका छन् । समाजवाद त उनीहरुले पनि छोडेका छैनन् ।  त्यसैले एउटा समयमा, एउटा स्थानमा पूर्णता हासिल गरेको वा लागु भएको विचार सबै ठाउँ र परिवेशमा उही तरिकाले लागु हुन्छ भन्ने हुँदैन । त्यसको सार्वभौम पक्षलाई आत्मसात् गर्दै त्यसमा समयसापेक्ष परिवर्तन गर्नुपर्ने हुन्छ । नेपालका वामपन्थीले लेनिनवादी संगठनात्मक विधिमा आवधिक नेतृत्व, आगमन र निगमनको विधि र पुस्ता समायोजनको विषय अनिवार्य थप गर्नुपर्ने देखिन्छ । वर्तमानको भू–राजनीतिक अवस्थालाई मध्यनजर गरेर नेपालका कम्युनिष्टहरुले आफ्ना नीति र कार्यक्रमहरु निर्माण गर्न अति आवश्यक छ ।

बिघटनको कारण

कुनै पनि वस्तुको विकास र विनासमा बाह्य कारणभन्दा आन्तरिक कारण नै प्रधान हुन्छ भन्ने माक्र्सवादकै निश्कर्ष हो । त्यसैले नेपालको वा आन्दोलनका संकटहरुको चर्चा गर्दा आन्तरिक कारणहरुमै घोत्लिनु जरुरी छ । हिजो राजाकालीन समयमा कम्युनिस्टहरूमाथि जतिसुकै भीषण दमन थोपरे पनि र आकार प्रभावका हिसाबले अत्यन्त कमजोर भए पनि आमजनताका बीचमा उनीहरू लोकप्रिय थिए । किनकि उनीहरूमा वर्गपक्षधरता थियो । वर्गपक्षधरतालाई टेकेर नै राणा र राजाका विरुद्धमा उनीहरू उभिए । आज आकारमा लोभ लाग्ने गरी वृद्धि भएको जनमत र निरन्तर निर्णय गर्ने ठाउँमा अर्थात् राजकीय सत्तामा पुगिरहे पनि उनीहरूको लोकप्रियता किन डरलाग्दो गरी खस्किँदै छ रु किनकि सरकारमा पुग्न र टिकिरहनका लागि त्यागिएको वर्गपक्षधरताले नै उनीहरूलाई यो परिणाम भोग्न बाध्य बनाएको हो ।

आज कम्युनिष्ट पार्टीहरुले अंगिकार गरेको नीति र कार्यक्रमले एउटा निष्कर्शमा पुग्न सकिन्छ कि वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन विघटनको सँघारमा छ । कम्युनिस्टका नाममा राजकीय सत्तामा हालीमुहाली गरिरहेका केही सिमित मानिसहरुलाई यो निष्कर्श चित्त नबुझ्न सक्छ । तर यो सत्य हो ।  नेपाली वामपन्थी आन्दोलनको इतिहासमा यस्तो संकटग्रस्त अवस्था कहिल्यै देखिएको थिएन । आफ्नै कारणले कम्युनिष्टहरु ज्यादै अलोकप्रिय भए । आफ्नै कार्यकर्ता र समर्थक पनि टाढिने अवस्था बन्यो । वर्गीय प्रेम, सामुहिक भावना र राजनीतिक संस्कारबाट नेताहरु आफै च्यूत भएका छन् । संगै लडेका नेताहरुबीच नै शत्रुताको स्थिति बन्यो । बरु हिंजो आफैलाई बदनाम गर्ने र आक्रमण गर्नेहरु प्रिय हु“दै जान थाले । यस्तै घटनाहरुले आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । बिगतमा यो आन्दोलनको शक्ति र आकार सानो थियो होला, तर निस्सन्देह अत्यन्त लोकप्रिय थियो ।

हिजोको कम्युनिस्ट आन्दोलनसँग उद्देश्य थियो, कार्यक्रम थियो । त्यसबाहेक उद्देश्यका लागि त्याग र बलिदान गर्ने प्रवृत्ति थियो । त्यो उद्देश्य विचारधारा र सिद्धान्तसँग जोडिएको थियो । त्यस्तै नेतृत्व थियो । पार्टी स्वार्थभन्दा माथि केही थिएन ।  तदनुरुप नै यसका नेता कार्यकर्ताहरूले आफ्नो व्यवहार, जीवनशैली र कर्म विकसित गरेका थिए । उनीहरू भुईं मान्छेसँग यसरी जोडिएका थिए कि प्रतिक्रियावादीहरूले जनतासँग कम्युनिस्टहरूलाई अलग पार्नै सक्दैनथे । तर आजको अवस्था निकै उदेकलाग्दो छ । वर्गबिहीन समाजको लागि लड्ने कम्युनिष्ट पार्टीभित्रै धेरै वर्गहरु जन्मेका छन् । हिंजो युद्धमा हिडेको कार्यकर्ता र राजकीय सत्तामा पुगेको नेताबीच ठूलो वर्गीय खाडल बनेको छ । शासक र शासित जस्ता, शोसक र शोसित जस्ता देखिन्छन् नेता र कार्यकर्ताहरु । जनताको अवस्था त झन दयनीय छ ।

राणाकालमा कम्युनिस्टहरूको उद्देश्य जहाँनियाँ शासनको अन्त्य थियो । तदनरुपको कार्यक्रम र यसले माग गर्ने त्याग र बलिदानका लागि उनीहरू तयार थिए । पञ्चायतकालभरि नेपाली कम्युनिस्टहरूको उद्देश्य  पञ्चायतको अन्त्य थियो । त्यसका लागि पनि उनीहरूले ठूलो मूल्य चुकाएका थिए । यी सारा कामहरू वर्गपक्षधरताको जगमै टेकेर गरेका हुन् । त्यस कारण उनीहरू लोकप्रिय थिए र उद्देश्यमा सफल पनि भए ।

तर, आजका कम्युनिस्टहरूले सरकारमा र संसदमा वर्गपक्षधरता प्रकट गर्न सकेनन् । आज उनीहरूको नारा विकास र समृद्धि छ । त्यसभन्दा बाहेक सुखी नेपालीको चाहना पनि छ । तर, कसका लागि विकास र समृद्धि हो र ? अथवा सुखी कसलाई बनाउन खोजेको हो ? प्रस्ट छैन । सिद्धान्तहीन गठबन्धन गरेर सत्तामा टाँसिइरहने प्रवृत्तिले कम्युनिष्ट र बुर्जुवामा भिन्नता नदेखिने अवस्थाको सिर्जना भयो ।

नीति र नेतृत्वमा अलमल

लेनिनवादी सङ्गठनात्मक विधिको वकालत गर्ने कम्युनिष्टहरु उत्तराधिकारी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा कहिल्यै प्रष्ट भएनन् । स्टालिन, माओ, फिडेल क्यास्त्रोदेखि नेपालका मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे रोहित, सीपी मैनाली, मोहन वैद्य किरण हुँदै प्रचण्डसम्म आउँदा आ–आफ्नै प्रकारका अभ्यास देखिएका छन् । आजको वामपन्थी आन्दोलनको मूल नेतृत्वहरूमा ३० को दशकको सङ्घर्षकै क्रममा जन्मेको नेतृत्व देखिन्छ । यसको मतलब के हो भने उत्तराधिकारी निर्माण र नेतृत्व हस्तान्तरणको प्रश्नमा नेपाली वाम आन्दोलन गम्भीर देखिएको छैन, अनुदार देखिएको छ । एकपटक नेता भएपछि सकेसम्म प्राधिकार बन्ने मृत्युसैयासम्म पनि नेता भैरहने प्रवृत्ति यो आन्दोलनको क्यान्सर नै बनेको छ । त्यसको उदाहरण खोज्न विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा पुग्नै पर्दैन । नेपालमै काफी उदाहरण छन् । बरु बुर्जुवा पार्टीहरुमा नियमित महाधिवेशनहरुबाटै नेतृत्व परिवर्तन भएका छन् । त्यसले नयाँ र सिर्जनशील नेतृत्व निर्माण हुन सकेको देखिदैन ।

त्यस्तै नीतिका सन्दर्भमा पनि नेपालका कम्युनिष्टहरु उदार देखिदैनन् । नेपालमा मात्र हैन संसारभरिकै कम्युनिस्ट कार्यकर्ताहरूको सामान्य र सोझो बुझाइ छ— जसको नीति उसको नेतृत्व । यो स्वभाविक पनि हो । तर व्यवहारिक अभ्यासमा भने यस्तो देखिँदैन । जस्तो कि २०१४ सालको दोस्रो महाधिवेशनमा आफ्नो प्रस्ताव अस्वीकृत भएका डा। केशरजङ्ग रायमाझी नै महासचिवमा निर्वाचित भएका थिए । त्यसैगरी एमालेमा जनताको बहुदलीय जनवादको सिद्धान्त र राजनीतिक कार्यक्रमभन्दा विपरीत धारणा राख्नेहरू नेतृत्वमा पुगेको पनि देखिन्छ ।  संविधानसभाअन्तर्गत शान्ति र संविधानको मुख्य पक्षधरता देखिने बाबुराम भट्टराईले माओवादी पार्टीको नेतृत्व गर्न पाएनन् । सशस्त्र विद्रोहमा रहेको तत्कालीन माओवादीलाई लोकतान्त्रिक गणतन्त्रको बाटोमा लग्ने मुख्य प्रस्तावक उनै थिए । जुन चुनवाङ्ग बैठकको नामले माओवादीहरु सम्झने गर्दछन् । यी सबै घटनाहरुले नेपाली वाम आन्दोलनमा नीतिभन्दा नेतृत्व नै प्रधान देखिने गरेको छ ।

नीति र नेतृत्व एक अर्काका परिपूरक नै हुन् तर नीति अनुसारको नेतृत्व र सङ्गठनको अभ्यासभन्दा व्यक्ति नेतृत्वमा पुगेर आफू अनुकूलको नीति तथा कार्यक्रम लागु गर्ने प्रवृत्ति नै वाम आन्दोलनमा हाबी भएको छ । वर्तमान सन्दर्भमा नेतृत्व अघिअघि र नीति पछिपछि देखिएको छ । त्यसो भएकाले सैद्धान्तिक धरातलका आधारमा नेतृत्व र नेतृत्वका आधारमै नीति तथा कार्यक्रमको मान्यता स्थापित गर्दा व्यावहारिक हुन सक्छ, तर नेतृत्व अघिअघि र नीति पछिपछि हो कि नीति अघिअघि र नेतृत्व पछिपछि हो रु अथवा नीति र नेतृत्व सँगै हो ? यसमा थप प्रस्ट हुन जरुरी छ ।

अबको बाटो

आजको समयमा विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । छिमेकी भारतमा त मोदीको सत्ताले झारखण्ड लगायतमा आक्रमण गरेर त्यहाँको आन्दोलन तहसनहस नै पारेको छ । प्रतिकूल विशव परिस्थितिका बाबजुन पनि  नेपालमा कम्युनिस्ट जनमत अझै बलियो नै छ । यो नेपाली वामपन्थीका लागि खुसीको कुरा हो । तर यो अवस्था सधैँ कायम रहिरहन्छ भन्ने छैन । एकीकृत र केन्द्रीकृत कम्युनिस्ट आन्दोलनविना यो बलियो जनमतको रक्षा र सदुपयोग हुने कुरा पनि असम्भव छ । साझा मुद्दाका रूपमा नेपाली विशेषताको समाजवाद, सहअस्तित्वसहितको सर्वस्वीकार्य नेतृत्व, सङ्गठनका रूपमा जनआधारित र जनसेवामूलक सङ्गठन, आजको समाज मनोविज्ञान र आवश्यकताका आधारमा सहकार्य र एकता नै वर्तमान वाम आन्दोलनको आवश्यकता हो । नेपालका सन्दर्भमा एउटा वाम घटकले समाजवाद ल्याउने कुरा सुन्दर परिकल्पना मात्र हुने देखिन्छ ।

निष्कर्ष

गौरवशाली इतिहास भएको नेपाली वाम आन्दोलन वाम संकीर्णताकै कारण विभाजित बनेको तितो यथार्थ हो । शान्तिपूर्ण संघर्ष, प्रतिस्पर्धा र सहकार्यको कार्यनीति बोक्नेहरूको पार्टी र आन्दोलन बेग्लाबेग्लै हुनुलाई एकले अर्काको सहअस्तित्वलाई अस्वीकार गरेको भनी बुझ्नुपर्छ । नेपाली समाजको वर्ग चरित्रको व्याख्या गर्दा— अब नेपाल सामन्तवादी रहेन, मूलतः यो केही सामन्तवादी अवशेषसहित पुँजीवाद (दलाल पँजीवाद) मा प्रवेश गरिसकेको छ र अब समाजवाद प्राप्तिको आन्दोलनमा अगाडि जाने हो भन्ने विषयमा सबै कम्युनिस्ट एकमत देखिन्छन् । यो सैद्धान्तिक साझा सहमति हो भने बेग्लाबेग्लै टुकुडीको नेतृत्व गर्नुको के अर्थ छ र रु तसर्थ पुग्ने गन्तव्य किटान भएकाहरू र साझा बाटा तय गरेकाहरूको एकता हुनुपर्छ । अनि गन्तव्य तय भएका तर बाटा फरक भएकाहरूसँग मित्रवत सहकार्य गर्नुपर्ने देखिन्छ ।

वाम आन्दोलनमा नयाँ नयाँ चुनौती थपिँदै गइरहेका छन् । वाम समर्थक र जनमत धेरै भड्की नसकेको अवस्थामा नेतृत्वहरूले उदात्त भावनासहित सम्हालेर नयाँ दिशा दिन सके आन्दोलनको भविष्य उज्ज्वल नै छ, अन्यथा समाज यथास्थितिमा बस्न सक्दैन र तत्कालीन आकाङ्क्षालाई सम्बोधन गर्ने नाममा पछाडि नफर्केला भन्न सकिँदैन । त्यसलाई रोक्नका लागि उदाउँदै गरेको नयाँ पुस्तालाई समाजवादको उज्यालो प्रकाशतिर हिँडाउन सक्नुपर्छ ।

नेपाली वाम आन्दोलनमा पुनर्जागरणको प्रश्न भनेको समयानुकूल विचार, नीति, कार्यक्रम र नेतृत्वको पारदर्शिता नै हो र इमानदारिता र क्षमताको संयोजनले मात्र आजको युगको नेतृत्व गर्न सक्छ भन्ने मान्यतको स्थापित गर्नु हो । (लेखक मध्यपश्चिम विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक हुन्)