काठमाडौ फागुन १६,
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले पुराना र ठुला भनिने राजनीतिक दलहरूले लामो समय सत्ता चलाए पनि भ्रष्टाचार, नातावाद र कृपावादका कारण देश बन्न नसकेको आरोप लगाए। उनले जतिसुकै पढेलेखेका भए पनि युवाहरूले देशभित्रै रोजगारी पाउन नसकेको यथार्थ औँल्याउँदै अबको निर्वाचनलाई महिला, युवा, गरिब, दलित र सीमान्तकृत वर्गको पक्षमा अन्तिम फैसला गर्ने अवसरको रूपमा लिन मतदातालाई आह्वान गरे।
कार्यक्रममा अर्का नेता रजमान तामाङले राष्ट्रियताको रक्षा एकदिन हिरासत बस्नुपर्दा क्वाँ क्वाँ रुनेहरुबाट नहुने स्पष्ट पारे।
देश विकासको सामर्थ्य उनीसँग भएको बताए। उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै युवाहरूलाई रोजगारी दिन पार्टीको चुनाव चिह्न ‘आँखा’मा मतदान गर्न अनुरोध गरे।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार सबिन सिग्देलले भ्रष्टाचार र बेथितिविरुद्ध लडेका सहिद तथा युवाहरूको रगतको मूल्य खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। उनले देश हाल दुई किसिमका अतिवादको गम्भीर खतरामा रहेको औँल्याए। जुनसुकै हालतमा शासन सत्तामा टिकिरहन चाहने पुराना दलहरूको एउटा अतिवाद र टिभीको रिमोट थिचेजस्तै जादुमय ढंगले रातारात देशको कायापलट हुन्छ भन्ने अर्को लोकप्रियतावादी अतिवाद दुवै समाजका लागि घातक रहेको उनले बताए।
यी दुवै अतिवादले ठूलो जनसमुदायलाई किनारामा राख्ने भन्दै सिग्देलले आफू र आफ्नो पार्टी लोकतान्त्रिक विधि र पद्धतिमा विश्वास गर्ने विकल्पका रूपमा मैदानमा आएको प्रष्ट पारे। उनले न्यायप्रेमी मतदातालाई विवेक प्रयोग गरी आँखा चुनाव चिह्नमा मतदान गरेर विधिको शासन मान्ने युवा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
