काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्यु भइसकेको छ। इरानको सरकारी टेलिभिजनले यसको पुष्टि गरेको छ।

खामेनेईले विभिन्न अवसरहरूमा खुला रूपमा इसराइलबारे आफ्ना विचार व्यक्त गरेका थिए। उनी लामो समयदेखि इसराइललाई पश्चिम एशियाको “क्यान्सरग्रस्त ट्युमर” भन्दै त्यसलाई उखेल्नुपर्छ भन्ने धारणा राख्दै आएका थिए।

गत वर्ष जुन महिनामा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिलो पटक सार्वजनिक रूपमा खामेनेईलाई निशाना बनाउने सम्भावनाबारे संकेत दिएका थिए। एबीसी च्यानललाई दिएको अन्तर्वार्तामा उनलाई सोधिएको थियो—के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेताको हत्या सम्बन्धी इसराइली योजना अस्वीकार गरेका हुन्?

जवाफमा नेतन्याहूले भनेका थिए, “खामेनेईको मृत्युले संघर्ष बढाउनु भन्दा अन्त्य गर्न सहयोग गर्छ।”

यो बयानले इसराइल खामेनेईलाई लक्षित गर्ने योजनामा काम गरिरहेको संकेत दिएको थियो, तर अमेरिकाबाट अन्तिम स्वीकृति नपाएको देखिन्थ्यो।
किन सुरु भयो यस्तो चर्चा?

अमेरिकामा बीबीसीका सहकर्मी च्यानल सीबीएसलाई अमेरिकी सरकारका तीन अधिकारीहरूले बताएका अनुसार ट्रम्पले खामेनेईलाई मार्ने इसराइली योजना अस्वीकार गरेका थिए।

रिपोर्ट अनुसार ट्रम्पले नेतन्याहूलाई यस्तो कदमले इरान–इसराइल संघर्ष झन् भड्किन सक्ने चेतावनी दिएका थिए। पछि उनले सामाजिक सञ्जालमा लेखेका थिए—“हामी अहिलेका लागि खामेनेईलाई मार्ने छैनौं।”

यस पृष्ठभूमिमा इसराइलका सैन्य र गुप्तचर गतिविधि तथा ट्रम्पका बयान जोड्दा खामेनेईमाथि खतरा मडारिएको अनुमान गर्न कठिन थिएन। उनी इरानका सबैभन्दा शक्तिशाली व्यक्ति थिए।

धार्मिक बन्ने चुनौती

खामेनेईको जन्म १९३९ मा इरानको उत्तर–पूर्वी शहर मशहदमा भएको थियो, जुन देशको पवित्र शहर मानिन्छ।

उनले पनि आफ्ना पिताझैं मौलवी बन्ने बाटो रोजे र शिया मुसलमानहरूको प्रमुख शिक्षाकेन्द्र कुममा अध्ययन गरे। ११ वर्षकै उमेरमा उनी मौलवी बनेका थिए।
त्यो समय इरानमा शाह मोहम्मद रजा पहलवीको शासन थियो।

पहलवी एक धर्मनिरपेक्ष शासक मानिन्थे र धार्मिक व्यक्तिलाई शंकाको नजरले हेर्थे।
लेखक मेहदी खालाजीका अनुसार बाल्यकालमा खामेनेई मौलवीको पोशाक लगाएर खेल्दा साथीहरूले उनको मजाक उडाउँथे। उनलाई सिगरेट र पाइप पिउने बानी पनि थियो, जुन धार्मिक व्यक्तिका लागि असामान्य मानिन्थ्यो।
बढ्दै जाँदा शाह शासनप्रति उनको असन्तोष बढ्दै गयो र उनी शाहका प्रमुख विरोधी आयतुल्लाह रुहोल्लाह खुमैनीका समर्थक बने।
इस्लामिक क्रान्ति

१९७९ मा शाहको शासन पतन भयो र खुमैनी फ्रान्सबाट फर्केर इरानमा इस्लामिक गणतन्त्र स्थापना गरे। त्यस समय सडकमा दुई व्यक्तिका तस्वीर देखिन्थे—खुमैनी र हुसैन अली मोन्तजेरी।

यस नयाँ व्यवस्थामा मौलवीहरूको हातमा सत्ता आयो र तीमध्ये खामेनेई पनि थिए। उनी छिट्टै खुमैनीका निकट सहयोगी बने।

त्यही वर्ष तेहरानस्थित अमेरिकी दूतावास कब्जा घटनामा पनि उनको भूमिका थियो। पछि उनलाई उप–रक्षामन्त्री बनाइयो र इस्लामिक रिभोल्युशनरी गार्ड कोर (IRGC) संगठित गर्न महत्वपूर्ण भूमिका खेले। यो बल पछि इरानको शक्तिशाली संस्थामध्ये एक बन्यो।

हत्या प्रयासबाट बाँचिएको घटना

१९८१ मा पत्रकार सम्मेलनका क्रममा उनको नजिक राखिएको टेपरेकर्डरमा विस्फोट भयो। यस हमलामा उनको दायाँ हात पक्षाघात भयो र एक कानको सुन्ने क्षमता प्रभावित भयो। आरोप मुजाहिदीन–ए–खल्क समूहलाई लगाइएको थियो।
त्यसपछि उनले भनेका थिए—“मलाई लाग्यो मृत्यु ढोकामा आइपुगेको छ। पछि बुझें, कुनै कारणले भगवानले बचाउनुभयो।”

राष्ट्रपति पद

चोटबाट निको हुँदै गर्दा उनलाई इरानको राष्ट्रपति चुनियो। १९८१ देखि करिब आठ वर्ष उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले।

उनकै कार्यकालमा इराकका शासक सद्दाम हुसेनले इरानमाथि हमला गरे र आठ वर्ष लामो विनाशकारी युद्ध सुरु भयो। युद्धकालमा उनले रणनीतिक निर्णयहरूमा सक्रिय भूमिका खेले।

सर्वोच्च नेता बन्न संविधान संशोधन

१९८९ मा खुमैनीको निधनपछि खामेनेईलाई इरानको सर्वोच्च नेता बनाइयो। उनी आफूलाई यस पदका लागि पर्याप्त धार्मिक रूपमा योग्य ठान्दैनथे, तर खुमैनीसँगको निकटता र लोकप्रियताका कारण संविधान संशोधन गरेर उनलाई नियुक्त गरियो।
सत्ता सम्हालेपछि उनले आफ्ना विश्वासपात्र व्यक्तिहरू वरिपरि राख्दै शक्ति सुदृढ गर्ने रणनीति अपनाए। विश्लेषकहरूका अनुसार उनी जिद्दी र अत्यन्त सतर्क स्वभावका थिए, जसका कारण लामो समयसम्म सत्ताको केन्द्रमा रहे।
विवाद र आलोचना

तीन दशकभन्दा बढी समय सत्तामा रहँदा उनीमाथि विरोध दबाउने, पत्रकारमाथि दमन गर्ने, अभिव्यक्ति स्वतन्त्रतामा सेन्सर लगाउने र मानवअधिकार उल्लंघनका आरोप लागिरहे।

२०२२ मा महसा अमिनीको मृत्यु पछि भएको प्रदर्शन कठोर रूपमा दमन गरिएको भन्दै पनि उनको आलोचना भयो।

उनकै कार्यकालमा इरानमाथि परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागे। यद्यपि उनले सार्वजनिक रूपमा परमाणु हतियार इस्लामविरुद्ध भएको बताएका थिए।

राष्ट्रपतिहरूसँग सम्बन्ध

उनले पाँच राष्ट्रपतिहरूसँग काम गरे।

मोहम्मद खातमी—पश्चिमसँग सम्बन्ध सुधार्न चाहन्थे, तर खामेनेईसँग मतभेद भयो।
हसन रूहानी—उदारवादी मानिए पनि सम्बन्ध तनावपूर्ण रह्यो।
इब्राहिम रईसी—सम्बन्ध राम्रो भए पनि मानवअधिकार उल्लंघनका आरोप बढे।
मसूद पेजेशकियान—सुधारवादी भए पनि अहिलेसम्म सन्तुलन राख्दै काम गरेका छन्।
खामेनेईका निजी जीवनबारे कम जानकारी सार्वजनिक छ। उनका चार छोरा र दुई छोरी छन्। उनका छोरा मुज्तबा सम्भावित उत्तराधिकारीका रूपमा चर्चा हुँदै आएका छन्। सर्वोच्च नेता बनेपछि उनले कहिल्यै विदेश भ्रमण गरेका थिएनन्।

अमेरिका र इसराइलबारे दृष्टिकोण

खामेनेई अमेरिका “ठूलो शैतान” र इसराइल “सानो शैतान” भएको बताउँथे।
अमेरिका–इरान सम्बन्ध दशकौँदेखि तनावपूर्ण छन्—१९५३ को तख्तापलट, १९७९ क्रान्ति, दूतावास बन्धक संकट, इराक युद्ध, परमाणु कार्यक्रम र राजनीतिक टकराव जस्ता घटनाहरू यसको कारण हुन्।

क्रान्ति अघि इरान र इसराइलका सम्बन्ध राम्रो थिए, तर त्यसपछि इरानले इसराइलको अस्तित्व अस्वीकार गर्दै फिलिस्तिनी मुद्दालाई कडा समर्थन गर्न थाल्यो। पछिल्ला वर्षहरूमा दुवै देशबीच परोक्ष सैन्य र साइबर आक्रमण हुँदै आएका छन्, तर हाल लगातार पाँच दिनदेखि प्रत्यक्ष सैन्य संघर्ष भइरहेको बताइन्छ।

यो रिपोर्ट पहिलो पटक १८ जुन २०२५ मा प्रकाशित बिबिसी हिन्दीको रिपोर्ट हो ।नेपालीमा अनुबाद गरिएको यो सामग्री हामीले बिबिसी हिन्दीबाट साभार गरेका हौँ- सम्पादक।