
काठमाडौं फागुन १८,
प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि आज चुनावी प्रचारप्रसारको अन्तिम दिन रहेकाले राजनीतिक दल र उम्मेदवारहरू अन्तिम समयसम्म मतदाता भेटघाट, सभा तथा अभियानमा सक्रिय छन्। आज मध्यराति १२ बजेदेखि मौन अवधि लागू हुने भएकाले त्यसपछि कुनै पनि प्रकारको चुनावी प्रचार गर्न पाइने छैन।
मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारका पक्ष वा विपक्षमा मत माग्ने, सभा–सम्मेलन गर्ने, अन्तरक्रिया वा गोष्ठी आयोजना गर्ने तथा सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य निषेध हुन्छ। यस्तो व्यवस्था शान्त, निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न लागू गरिएको हो।
निर्वाचन आयोग का अनुसार मौन अवधिमा मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ। साथै उम्मेदवार, दलका पदाधिकारी, भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्ति वा संस्थाले मत प्रभावित पार्ने कुनै गतिविधि गर्न नपाउने प्रावधान छ।
निर्वाचन अधिकारीहरूका अनुसार मौन अवधिको मुख्य उद्देश्य मतदानअघि विवाद वा झडपको सम्भावना घटाई शान्त वातावरणमा मतदान सम्पन्न गर्नु हो। उल्लङ्घन भए कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।
मतदान फागुन २१ गते हुने तय छ। त्यसअघि आजको दिनलाई दलहरूले अन्तिम प्रचार दिवसका रूपमा प्रयोग गर्दै अभियान संचालन गर्नेछन् ।
