नुवाकोट फागुन १८
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिनेश आचार्यले आफूलाई स्वतन्त्र रूपमा बस्न दिन आग्रह गर्दै पार्टीबाट अलग हुने घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सन्देशमार्फत पार्टीले पठाएको पत्र अस्वीकार गर्दै अब आफूलाई उक्त पार्टी आवश्यक नभएको स्पष्ट पारे।
पार्टीको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा आचार्यले दिएको राजीनामा अस्वीकार गरिएको जानकारी गराइएको थियो। उक्त पत्रमा उनलाई उम्मेदवार तथा सम्बन्धित क्षेत्रका निर्वाचन गतिविधिमा समन्वय र सहकार्य गर्न निर्देशन दिइएको उल्लेख छ।
तर आचार्यले सो पत्र अस्वीकार गर्दै पार्टीभित्र “राजनीतिक विकृति देखिएको, बुझिएको र भोगिएको” दाबी गरेका छन्। उनले आफ्नो निर्णय व्यक्तिगत विवेकमा आधारित रहेको र यसमा कुनै करकाप, स्वार्थ वा लोभ–लालच नभएको बताएका छन्।
उनका अनुसार अहिले नभए पनि छ महिनापछि सबैले वास्तविकता बुझ्ने र अन्ततः आफ्नो बाटो रोज्ने दाबी गरेका छन्। साथै उनले राजनीतिमा ठूलो हिस्सा खोज्नेहरूलाई शुभकामना दिँदै “राजनीतिभन्दा बाहिर पनि संसार छ” भन्ने टिप्पणी गरेका छन्।
