
काठमाडौं फागुन २२,
चीनले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै नेपाललाई बधाई दिएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालले निर्धारित समयअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा चीनले स्वागत गरेको बताइन्।
उनका अनुसार चीन नेपालले आफ्नो राजनीतिक कार्यसूचीलाई सहज रूपमा अगाडि बढाइरहेको देखेर खुशी छ। उनले नेपाल र चीनबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै दुई देशले स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणमा एक–अर्कालाई सहयोग गर्दै आएको बताइन्।
प्रवक्ता माओ निङले चीन नेपालसँग मिलेर विकास र समृद्धिका लागि दीर्घकालीन मित्रतामा आधारित रणनीतिक सहकार्य साझेदारीलाई थप सुदृढ बनाउँदै लैजान तयार रहेको पनि स्पष्ट पारिन्।
५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भएको र करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ। निर्वाचन प्रक्रियाबारे प्रारम्भिक जानकारी सार्वजनिक गर्दै ले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको थियो।
नेपालको संसदीय चुनावपछि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ प्रतिक्रियाहरू दिन थालेका छन्, जसमा चीनको योपछिल्लो प्रतिक्रिया हो।यसअघि अमेरिका र भारत जस्ता मुलुकले आफ्नो प्रतिक्रिया दिइसकेको छ।
