काठमाडौं चैत्र १
माओवादी आन्दोलनका चर्चित नेता महेश्वर दाहालले प्रतिनिधि सभा निर्वाचनमा मात्रिका यादवको जीतको प्रक्रिया विवादास्पद भएको भन्दै पुनःनिर्वाचनको आवश्यकता औँल्याएका छन्।
दाहालले आफ्नो सामाजिक सञ्जाल स्टाटसमा भनेका छन् मात्रिका यादव संसदमा पुग्न योग्य र सक्षम व्यक्ति हुन्। तर हालकै प्रक्रियाले उनलाई विजेता घोषणा गर्नु उनको व्यक्तिगत प्रतिष्ठाका लागि पनि उपयुक्त नहुने उनले स्पष्ट पारेका छन्।

उनले अन्तर्राष्ट्रिय निर्वाचन अभ्यासको उद्धरण दिँदै भनेका छन् कि अयोग्य उम्मेदवारले बढी मत प्राप्त गरेको अवस्थामा, स्वतः दोस्रो स्थानमा रहेका उम्मेदवारलाई विजेता घोषणा गर्ने चलन सामान्यतया छैन। मतदाताले अयोग्य उम्मेदवारलाई मत नदिएको भए कसलाई समर्थन गर्थे भन्ने कुरा निश्चित रूपमा भन्न सकिँदैन।
दाहालले निष्कर्षमा प्रायः लोकतान्त्रिक अभ्यासमा यस्तो परिस्थितिमा निर्वाचन रद्द गरेर पुनःनिर्वाचन गर्ने चलन अपनाइने भएकोले, यही उपाय यहाँ पनि उपयुक्त हुने बताएका छन्।
दाहाल पत्रकारिता जगतमा समेत प्रतिष्ठित ब्यक्तित्व हुन् ।
