काठमाडौं बैशाख ९
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पार्टी परित्याग गरेका छन्। उनले एक वक्तव्य जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी दिएका हुन्।
किराँतीले करिब पाँच महिनाको आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग र मार्गदर्शन गर्ने पार्टीका नेताहरू, सहकर्मी तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उक्त अवधिमा प्राप्त अनुभवहरूलाई उनले अमूल्य सम्पत्तिका रूपमा आत्मसाथ गरेको बताएका छन्।
“संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु,” वक्तव्यमा उल्लेख छ।
उनले जनसमुदायको भरोसा र सहिदहरूको अधुरो सपनालाई केन्द्रमा राख्दै भविष्यमा पनि देश र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्। “जस्तोसुकै परिस्थिति आएपनि समाज रूपान्तरणको यात्राबाट पछि नहट्नेछु,” उनले बताएका छन्।
किराँतीले आफ्नो आगामी राजनीतिक यात्रा चुनौतीपूर्ण हुन सक्ने स्वीकार गर्दै पनि जनताको विश्वास र सहिदहरूको बलिदानले देखाएको मार्गमा अघि बढिरहने दृढता व्यक्त गरेका छन्।
स्रोतहरुका अनुसार किराँती हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा जोडिने तयारीमा छन् ।
