काठमाडौँ चैत्र ३
नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको निर्णय प्रक्रिया र बहस संस्कृतिप्रति प्रश्न उठाएका छन्।
पाण्डेले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा आफूहरूले पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गरेको र कमजोरीहरू औंल्याएको उल्लेख गरेका छन्। तर ती सुझावहरूलाई गम्भीरतापूर्वक सुन्ने र छलफल गर्ने वातावरण नबनेको उनको गुनासो छ। उनका अनुसार ती आवाजहरूलाई ‘नोट अफ डिसेन्ट’ मा सीमित गरिँदा वास्तविक बहस कमजोर बनेको छ।

“जब बैठक सुन्ने र सुध्रिने थलो नभई केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकतामा सीमित हुन्छ, तब विवेकको मृत्यु हुन्छ र अहंकारले स्थान लिन्छ,” उनले लेखेका छन्।
उनले अबको एमाले ‘बन्द कोठा’को निर्णय वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
