काठमाण्डु चैत्र २५
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारबारे हाल सार्वजनिक भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी समाचारमा स्पष्टता दिएका छन्। देउवाले सामाजिक संजालमार्फत आफ्नै भनाइ सार्वजनिक गर्दै भ्रामक प्रचारप्रसारबाट जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, “म र मेरो परिवारबारे सम्पत्ति सम्बन्धी विषयमा झुटा प्रचारबाजी भएको छ। हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेका थियौं। मेरो जीवन एउटा खुल्ला पुस्तक जस्तो छ र सत्य समयसँगै प्रकट हुन्छ।”

देउवाले आफ्नो राजनीतिक जीवनमा भ्रष्टाचारमुक्त समाज निर्माणको क्षेत्रमा पुर्याएको योगदान पनि स्मरण गराएका छन्। उनले उल्लेख गरे कि २०४८ सालमा आफ्नो गृह मन्त्रालयमा कार्यरत रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लागू भएको थियो भने २०५९ सालमा आफ्नो प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन लागू गरेको सर्वविदित छ।
साथै, स्वास्थ्य उपचारका कारण हाल विदेशमा रहेकाले उपचार जारी रहेको जानकारी समेत उनले दिएका छन्। देउवाले सबैमा अपील गर्दै भनेका छन्, “अतिरंजना गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्नुहोला।”
