काठमाण्डु चैत्र २६,

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको भए पनि अन्ततः मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।


रिहाइपछि सार्वजनिक सन्देश जारी गर्दै ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेताहरू तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
ओलीले आफ्नो पक्षमा परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गर्दै न्यायालयले अन्ततः कानुन र न्यायको पक्षमा उभिएको बताएका छन्।
उनले प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा आफ्नो स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।
त्यस्तै, आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएकामाथि भएको चर्को दमनप्रति ओलीले दुःख व्यक्त गरेका छन्। उनले घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। यदि राज्य यसमा उदासीन बनेमा पार्टीले उपचार खर्च बेहोर्ने पनि उनले स्पष्ट पारे।
स्वास्थ्य अवस्था अझै प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै ओलीले यस कठिन घडीमा सद्भाव, समर्थन र शुभेच्छा प्रकट गर्ने पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।