मेरो संसदीय यात्रा
२०७९ सालमा मेरो संसदीय यात्रा सुरु भयो । हुन त अन्तरिम संसद र पहिलो संविधानसभामै म भन्दा धेरै जुनियर साथीहरूले त्यो अवसर पाईसक्नुभएको थियो । म जनयुद्धको सुरुको सिपाही भए पनि पार्टीभित्र मूल नेतृत्वसित मेरो ठूलदाई जनार्दन शर्माको विभिन्न विषयमा हुने अन्तरसंघर्षको सिकार पटक–पटक मलाई बनाइयो । कैयौं अवस्थामा भौगोलिक अन्तरविरोधको सिकार पनि भए र कैयौं बेला जातीय अन्तरविरोधको शिकार पनि भए । लडाइँ माथि हुन्छ तर बदला प्रायः हामीमाथि लिइरहियो । त्यही कारण मभन्दा पछिका महिला नेताहरू राजकीय जिम्मेवारीमा माथि पुर्याउन ममाथि झुटा आरोप समेत लगाइयो ।

तर, म आन्दोलनबाट कहिल्यै विचलित भइनँ । आफ्नो वर्गप्रेम निरन्तर जिवीत राखेँ । कहिले आन्दोलनप्रति गद्धारी र आत्मसर्मपण गरिनँ । जे भए पनि निरन्तर लागिरहेँ । २०७० सालमा पार्टी विभाजन भएको बेलाको निर्वाचनमा उठ्दा हार करिब करिब पहिले नै निश्चित थियो । त्यो समयमा आफूले काम गरेको भन्दा फरक क्षेत्रमा टिकट पाएर पनि प्रतिस्पर्धा गरेको थिएँ । ०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धनको बेला जित सुनिश्चित थियो । त्यसमा मैले टिकट पाउने कुरा भएन । म सहज रुपमा निर्वाचन प्रचारमा जुटेँ । रिजल्ट पनि राम्रै आयो ।

नेकपा विभाजनपछि ०७९ को निर्वाचनमा दाङ जिल्लाले मेरो नाम सर्वसम्मत रुपमा समानुपातिक बन्दसूचीको एक नम्बरमा सिफारिस गर्यो । सोही अनुसार प्रदेशले पनि सिफारिस गर्यो । पछि केन्द्रबाट एक नम्बरमा नहुने दुई नम्बरमा राख्ने कुरा सुनेँ, ठिकै थियो तर निर्वाचन आयोगमा बन्दसूची बुझाउँदा मेरो नाम खस आर्य महिलाको तीन नम्बरमा राखेर पठाइएछ । पार्टीको निर्णय हामी जस्ता इमान्दार सिपाहीले सहज रुपमा लिने नै भयौंं । तीन नम्बर पनि पर्नसक्छ भन्ने विश्वास र आशासहित निर्वाचन प्रचार प्रसारमा लागेँ ।

निर्वाचन सम्पन्न भएपछि प्राप्त मतका आधारमा मलाई फोनबाट अग्रिम बधाई आउन थाल्यो । पार्टीको निर्णय भएको थिएन । म के होला भनेर काठमाडौं गएँ । पार्टीभित्र खस आर्य पुरुष ल्याएर अन्य कलष्टरबाट महिला ल्याउने हल्ला पनि सुनिए । जे होला अहिलेसम्म भइएन, अब नभए पनि के होला र भनेर मैले आफूलाई सम्हालिरहेको थिएँ । देशव्यापी शुभचिन्तकहरूको फोन म्यासेजले हैरान भएर मैले फोन अफ गरेको थिएँ । साथीहरु के हुन्छ ? किन भएन ? भन्नुहुन्छ । मसित जवाफ थिएन । त्यस कारण फोन, म्यासेज बन्द गरेर काठमाडौंमा बसेकी थिएँ । त्यही दिन दाङ तुलसीपुरको एक जना भाई डेविटले पार्टीमा चलखेल नहोस्, इमान्दारलाई पछि पार्ने, अन्याय गर्ने काम नहोस् भन्ने यस्तै आशयको स्टाटस लेखेर मलाई समेत ट्याग गर्नुभएको रहेछ ।

मेरो फोन अफ र सोसल मिडिया समेत अफ भएका कारण मैले थाहा पाउने कुरा भएन । तर जे होस् काम, लगानी र इतिहास सबै हिसाबले म तीन नम्बर महिला जान मिल्ने मत पनि भएका कारण मेरो पक्षमा निर्णय हुन्छ भन्नेमा म ढुक्क थिएँ । तर भित्र चलेका चलखेल न मलाई थाहा थियो न बाहिर लेखिएका कुरा थाहा थियो । निर्णय भएको दिन साँझ पख म धेरै भयो सम्पर्कविहीन भएको भनेर फोन अन गरेँ ।

शनिबारको दिन चार बजेको समयमा फोन अन गर्नासाथ पार्टी अध्यक्षको सचिवालयमा काम गर्ने भाइ रमेश मल्लको फोन आयो । निर्णय भयो होला बधाई दिन फोन गरे भन्ने कल्पना गर्दै फोन उठाएँ । उनले आफू केही नभनी दिदी ल अध्यक्षसँग कुरा गर्नु भनेर फोन कमरेड प्रचण्डलाई दिए । अति खुशीले अध्यक्षले बधाइ भन्नुहोला भन्ने लागेको थियो । तर, अध्यक्षको बोली सुन्न पाउने कल्पना गर्दै फोन उठाएर अध्यक्षज्यू सलाम के भन्न भ्याएको थिएँ । उताबाट मैले जीवनमा कल्पना गर्न नसकेको शब्दहरूको वर्षा भयो । अध्यक्ष प्रचण्डले अरु केही कुरा नगरी के तरिका हो तपाईंहरूको? तपाईंहरूले आपराधिक कुरा गर्ने ? आसेपासे राख्न खोज्यो भन्ने ? षड्यन्त्र गर्यो भन्ने ? गुण्डा परिचालन गर्ने ? मेरो र हाम्रो विरुद्ध नानाथरि भाषा प्रयोग गर्ने ? जे मन लाग्यो त्यही बोल्ने ? आपराधिक ढंगले कुरा गरेर हाम्रा विरुद्ध सञ्जाल प्रयोग गर्ने ? भन्दै करिब सातदेखि दश मिनेट ननस्टप हप्काएपछि गाली गरेर तपाईंलाई मैले सांसद बनाए भनेर भन्नुभयो ।

अध्यक्षको त्यो हप्काइले मेरो आँखाबाट बलिन्द्र धारा आँशु बगिरहेको थियो । मलाई यति बढी पिर आमाको मृत्युमा पनि परेन होला सायद । तर अध्यक्षको बोलीले त्यो भन्दा बढी रोएँ । मैले म सांसद बन्ने निर्णयलाई अति सामान्य रुपमा लिए । तर, जसको नाममा ३५ वर्षको जीवन सुम्पिए । बा आमा भन्दा अभिभावक ठानेँ । मेरो जीवनको सबैभन्दा प्रिय लाग्ने मान्छे संसारमा प्रचण्ड नै थिए । त्यही व्यक्तिबाट त्यसप्रकारको हप्कीदप्कीबाट मेरो मनलाई अति छियाछिया बनायो । त्यही दिनदेखि मेरो उहाँलाई हेर्ने दृष्टिकोणमा फरकपन आयो । के भएको थियो, किन त्यसो भनियो मलाई जानकारी पनि थिएन । पछि तुलसीपुरको डेविट भाईको स्टाटस हेरे अनि मेरो निर्णय गर्न आनाकानी गर्दा पार्टीका अरु नेताहरूको दबाब पनि परेछ अध्यक्षलाई । त्यसको रिष म एउटा सिपाही, जसको आदेशले मर्न तयार थिए उसैमाथि पोखियो ।

राजनीतिक जीवनको सबैभन्दा दुखद क्षण त्यो पनि बन्यो, मेरा लागि । त्यही घटनापछि हामीले आदर्श मानेको हेडक्वाटर कति दुर्गन्धित रहेछ भन्ने अनुभूति भयो । म किन शहिद भइन भन्ने पछुतो मात्रै भइरह्यो । पार्टी केन्द्रीय कार्यालयबाट फोटो लगायत डकुमेन्ट लिएर आउनु भन्ने फोन आयो । मलाई जान मन लागेन । मलाई चाहिएन, सांसद जसलाई बनाउँदा अध्यक्षको मन शान्त हुन्छ उसैलाई बनाउन भन्छु भनेर ठूल दाई जनार्दन शर्मालाई फोन गरे । सबै कुरा सुनाएर रोएँ । दाईले तलाई भनेको होइन मलाई भनेको हो, भोलि पार्टी अफिस जाऊ भन्नुभयो । दाईको आदेश अनुसार मन नलागी नलागी पनि अर्को दिन पार्टी कार्यालय पुगेर डकुमेन्ट बुझाएँ ।

मैले अगाडि नै भनिसके– एक त युद्धकालदेखि नै ममाथि विभदे गरियो । अन्तरिम विधायक, पहिलो संविधानसभा हुँदै ०७९ सालमा पनि तीन नम्बरमा राखियो । तीन नम्बरमा पनि पर्ने मत आएपछि पार्टीभित्र सिनियरिटीको विषयमा र बाहिर साथीहरूले पनि कुरा उठाएकोले होला मेरो आर्दशले मलाई हप्काएको र अपमान गरेको भन्न्ो निष्कर्षमा पुगेँ । यसरी २०७९ पुष ११ गते मैले प्रतिनिधिसभा सदस्यको शपथ लिएर २०८२ को जेनजी विद्रोहसम्म आफ्नो भूमिका निर्वाह गरे ।

नारायणी शर्माद्वारा लिखित प्रकाशोन्मुख कृति ´जनयुद्धको पहिलो महिला छापामारको बकपत्र` पुस्तकबाट साभार