एजेन्सी ,अन्ततः इरानी सरकारी टेलिभिजनले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरेको छ।
अमेरिका र इजरायलले इरानमाथि गरेको शृङ्खलाबद्ध र भीषण आक्रमणमा परी उनको ज्यान गएको हो।
सरकारी टेलिभिजनका प्रस्तोताले आँसु झार्दै खामेनीको मृत्युको घोषणा गरेका थिए र देशमा ४० दिनको राष्ट्रिय शोक लागू हुने जानकारी दिएका छन्।
खामेनीको परिवार पनि मारिए
सीबीएस न्युजका अनुसार आक्रमणमा इरानका करिब ४० जना उच्च अधिकारीहरू मारिएका छन्।
मृत्यु हुनेमा सर्वोच्च नेता खामेनी, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डर र इरानका रक्षामन्त्री समेत रहेको गुप्तचर र सैन्य स्रोतले जनाएको छ।
यसैगरी, आईआरजीसीसँग सम्बद्ध फार्स न्युज एजेन्सीले ‘जानकार स्रोतहरू’लाई उद्धृत गर्दै आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नाति र एकजना बुहारीको पनि मृत्यु भएको उल्लेख गरेको छ।

