काठमाडौं फागुन ३०,
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेल उपमहासचिव योगेश भट्टराई नेताहरु गोकुल बास्कोटा र शेर बहादुर तामाङबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप सुरु भएको छ।
महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै निर्वाचनका समयमा योगेश भट्टराईले महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा चलेको भए पनि त्यसबारे आफूलाई आश्चर्य लागेको बताएका छन्। उनले आफूले भट्टराईलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म जान अनुरोध गरेको र समय मिलेको खण्डमा दाङमा समेत आउन आग्रह गरेको उल्लेख गरेका छन्।
पोख्रेलका अनुसार त्यसबेला भट्टराईले ताप्लेजुङ जानुपर्ने बताएको र आफूले त्यसलाई स्वाभाविक रूपमा लिएको बताएका छन्। उनले भट्टराईका नाममा सम्प्रेषित भनाइ अधुरो रूपमा बाहिरिएको हुन सक्ने भन्दै भ्रम नपरोस् भनेर स्पष्ट गरेको बताएका छन्।उनले लेखेका छन् ,
अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु।
(सायद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस भनेर मात्र स्पष्ट गर्नु परेको हो ।)
त्यस्तै अर्का नेता गोकुल बास्कोटाले पनि सामाजिक सञ्जालमै प्रतिक्रिया जनाउँदै शेरबहादुर तामाङप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफ्नो मत राखेकै कारण तामाङले आफूविरुद्ध सार्वजनिक रूपमा आक्रमण गरेको आरोप लगाएका छन्।
बास्कोटाले आफूलाई अवसरवादी भन्दै टिप्पणी गरिएकोप्रति आपत्ति जनाउँदै तामाङलाई ‘गुट बदल्ने र पद प्राप्तिका लागि चलखेल गर्ने’ आरोपसमेत लगाएका छन्। उनले ०३८ सालदेखिको राजनीतिक इतिहास हेर्नसमेत चुनौती दिएका छन्।
बास्कोटाले लेखेका छन् ,
भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन।०३८ यताका ईतिहस हेरौ न।
