काठमाडौं चैत्र २,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। महामन्त्री कबिन्द्र बुर्लाकोटीले सोमबार सूचना जारी गर्दै प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित आफ्ना सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम तय गरिएको जानकारी दिएको हो।
सूचनाअनुसार कार्यक्रम वि.सं. २०८२ चैत ३ र ४ गते काठमाडौंमा सञ्चालन हुनेछ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र होटेल रोयल टुलिपमा आयोजना गरिने बताइएको छ।
कार्यक्रमका मुख्य निर्देशहरू
पार्टीले अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि केही विशेष निर्देशसमेत जारी गरेको छ।
कार्यक्रम आवासीय हुने र सांसदहरूको खाना तथा बसोबासको व्यवस्था पार्टीले गर्ने।
कार्यक्रम अवधिभर मोबाइल फोन प्रयोग निषेध गरिने।
कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको।
होटल परिसरमा गाडी पार्किङबाहेक चालक तथा अन्य व्यक्तिको भोजन–आवास व्यवस्था पार्टीको जिम्मामा नहुने।
सांसदहरूले कार्यक्रमस्थलमा परिवार वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक गर्ने अनुमति नहुने।
कार्यक्रममा सहभागी हुने सांसदका लागि पोशाक “बिजनेस क्याजुअल” तोकिएको छ।
रास्वपाले संसदमा प्रवेश गरेका आफ्ना प्रतिनिधिहरूलाई संसदीय काम, पार्टीको नीति तथा कार्यशैलीबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ।