काठमाडौ जेठ ३

सन् १९९० अर्थात् २०४६ पछि संसारभर कम्युनिस्ट आन्दोलनमा भागदौड मच्चिरहेको थियोे ।त्यही बेला नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रियताको शिखर चढ्दै थियो।त्यो लोकप्रियताको शिखर चढाउने युवा नेता थिए मदन भण्डारी ।तिनै भण्डारीले तत्कालीन नेकपा एकताकेन्द्रसँग समेत एकता गर्न चाहेको तर प्रचण्डले भेट्न नै अस्वीकार गरेको तथ्य महेश्वर दाहालले खुलासा गर्नुभएको छ।
केटिएम पोष्टमा पत्रकार तथा वाम आन्दोलनका जानकार महेश्वर दाहालले सार्वजनिक गरेको संस्मरणअनुसार मदन भण्डारीले तत्कालीन भूमिगत माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न विशेष इच्छा व्यक्त गरेका थिए। त्यतिबेला प्रचण्ड ‘विश्वास’ नामबाट भूमिगत राजनीतिमा सक्रिय थिए।
दाहालका अनुसार मदन भण्डारीले स्पष्ट रूपमा भनेका थिए, “यदि ‘विश्वास’ र निर्मल लामा पनि एकतामा आउनुहुन्छ भने म महाधिवेशन सार्न तयार छु।” उनले तत्काल भेटघाटको वातावरण बनाउन समेत आग्रह गरेका थिए।
त्यो सन्देश प्रचण्डसम्म पुर्‍याइए पनि उनले भेट्न अस्वीकार गरेको दाबी गरिएको छ। संस्मरणअनुसार प्रचण्डले “म बाहिर गएको छु भन्नु, निर्मल लामासम्म यो सन्देश नपुर्‍याउनु” भन्दै प्रस्ताव अस्वीकार गरेका थिए।
त्यसपछि एमाले नेतृ विद्या भण्डारी ले पटक–पटक सम्पर्क गरेर “के भयो ?” भनेर चासो राखेकी थिइन्। तर भेटघाटको प्रक्रिया अघि बढ्न सकेन।
राजनीतिक वृत्तमा अहिले यो प्रश्न फेरि चर्चामा आएको छ— यदि त्यतिबेला मदन भण्डारी र प्रचण्डबीच संवाद भएको भए नेपालको वाम राजनीति फरक दिशामा जान्थ्यो कि ? बृहत् कम्युनिस्ट एकता सम्भव हुन्थ्यो कि ?
महेश्वर दाहालको संस्मरणले त्यतिबेलाको राजनीतिक अविश्वास, भूमिगत रणनीति र वाम आन्दोलनभित्रको दूरीलाई पुनः चर्चामा ल्याएको छ।