काठमाडौ चैत्र २,

चर्चित कलाकार तथा निर्देशक दीपकराज गिरी ले संसदमा महिलासहित दलित तथा उत्पीडित वर्गको प्रतिनिधित्व बढेको  श्रेय माओवादी जनयुद्धलाई दिनुपर्ने उल्लेख गरेका छन्।
सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै गिरीले हाल संसदमा देखिएको सामाजिक समावेशितालाई नेपालको राजनीतिक इतिहाससँग जोडेर व्याख्या गरेका हुन्। उनले लेखेका छन्,
“आजको यो परिवर्तन! संसदमा यत्रा महिलाहरू!! दलित, उत्पीडित वर्गको प्रतिनिधित्व!! यसको श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ। इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ! शुभप्रभात!!”


गिरीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। कतिपय प्रयोगकर्ताले उनको भनाइलाई नेपालको समावेशी राजनीतिक व्यवस्थाको विकाससँग जोडेर समर्थन गरेका छन् भने केहीले फरक मत पनि व्यक्त गरेका छन्।
नेपालमा २०६२/६३ को जनआन्दोलनपछि बनेको नयाँ राजनीतिक व्यवस्थाले राज्यका विभिन्न निकायमा महिला, दलित, आदिवासी जनजाति, मधेसी लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति अघि सारेको थियो। संविधानसभामार्फत बनेको वर्तमान संविधानले पनि समावेशी प्रतिनिधित्वलाई संवैधानिक व्यवस्था बनाएको छ।
यही सन्दर्भमा गिरीले सामाजिक सञ्जालमार्फत इतिहासलाई सम्मान गर्नुपर्ने र त्यसको योगदानलाई स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। उनका अनुसार अतीतका राजनीतिक आन्दोलनहरूले नै वर्तमान राजनीतिक संरचना र प्रतिनिधित्वको आधार तयार गरेका छन्।