एजेन्सी
इरानमाथि अमेरिका–इजरायलको आक्रमण र त्यसपछिको प्रत्याक्रमणका कारण क्षेत्रीय अवस्था झन् तनावग्रस्त बन्दै गएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो पछिल्लो बयानमा भनेका छन् ´ इरानको लक्ष्य क्षेत्रभर रहेका अमेरिकी सैन्य ठेगानाहरू हुन्, कुनै पनि क्षेत्रीय देश होइन`।
इरानको सरकारी टेलिभिजनमा बोल्दै उनले स्पष्ट पारे, “हामी युद्धलाई क्षेत्रीय बनाउने प्रयास गरिरहेका छैनौं। तर हाम्रो क्षेत्रभर अमेरिकी सैन्य बेस र सुविधाहरू फैलिएका कारण यो स्वाभाविक रूपमा क्षेत्रीय स्वरूप लिन सक्छ।”
उनका अनुसार, जब संयुक्त राज्य अमेरिकाले इरानमाथि लडाकु विमान वा तैनाथ युद्धपोतमार्फत आक्रमण गर्छ, तब अमेरिकासँग इरानी भूमिसम्म पुग्ने क्षमता हुन्छ। “हामी अमेरिकाको मुख्य भूमिसम्म पुग्न सक्दैनौं, तर हामी क्षेत्रभित्र रहेका उसका सैन्य ठेगानासम्म पुग्न सक्छौं। ती ठेगाना हाम्रो दृष्टिमा वैध लक्ष्य (Legitimate Target) हुन्,” उनले भने।
अराघचीले भने कि अहिलेको अवस्था पूर्ण रूपमा परिवर्तन भइसकेको छ। “हामी अब छिमेकी देशसँग लडिरहेका छैनौं। हामी ती देशको भूमिमा तैनाथ अमेरिकी फौजसँग मुकाबिला गरिरहेका छौं। साथै, दिन–रात आक्रमण गरिरहेको अमेरिका र इजरायलसँग पनि सामना गरिरहेका छौं।”
‘अमेरिकामाथि दबाब दिनुहोस्’
विदेशमन्त्री अराघचीले क्षेत्रीय देशहरूलाई इरानमाथि होइन, अमेरिकामाथि दबाब दिन आह्वान गरे। उनले भने, “इरानले अमेरिकी लक्ष्यमा किन आक्रमण गरिरहेको छ भनेर हामीमाथि दबाब दिनुको सट्टा, अमेरिकाले किन यो अन्यायपूर्ण र अवैध युद्ध सुरु गर्‍यो भनेर उसलाई सोध्नुपर्छ।”
उनले दाबी गरे कि इरानले कुनै पनि क्षेत्रीय देशको भूमि प्रयोग गरेको छैन, र ती देशहरूले पनि अमेरिकालाई आफ्नो हवाई क्षेत्र वा भू–भाग प्रयोग गर्न नदिएको बताएका छन्। त्यस अवस्थामा “अमेरिकी विमान कुवेती हवाई क्षेत्रमा कसरी पुगे?” भन्ने प्रश्न उनले उठाए।
इरानले यस विषयमा कुवेत सरकारलाई औपचारिक विरोध–पत्र (प्रोटेस्ट नोट) पठाउने तयारी गरिरहेको उनले जानकारी दिए। यदि कुवे तको दाबी अनुसार त्यहाँको एयर डिफेन्स प्रणालीले उक्त विमान खसालेको हो भने, त्यो विमान कुवेती हवाई क्षेत्रमा किन थियो भन्ने स्पष्ट पार्नुपर्ने उनले बताए।